सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिकलाई आवद्ध गराउनुपर्नेमा जोड

काठमाडौँ, १८ मंसिर । सरकारले मासिक रूपमा उपलब्ध गराउने भत्तालाई मात्र सामाजिक सुरक्षा मान्ने प्रवृत्तिमा परिवर्तन हुनुपर्ने सरोकारवालाको जोड रहेको छ ।

सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको समन्वयमा आयोजित सामाजिक सुरक्षा विषयमा अन्तरक्रियामा सहभागी अभियन्ता तथा सरोकारवाला संस्थाका प्रतिनिधीहरूले मासिक रूपमा भत्ता मात्र बाँड्नु भन्दा राज्यले दिने विविध सेवामा सहुलियत दिएर नागरिकको जीवन सवल र सुरक्षित बनाउने योजना बढाउनुपर्ने बताएका हुन् । साथै योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रका अनौपचारिक श्रमिकहरूलाई अनिवार्य आवद्धताका लागि पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले सामाजिक संरक्षणका फरक–फरक कार्यक्रमहरूलाई एकद्वार प्रणालीबाट नदोहोरिने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजमा मानवअधिकारको प्रत्याभूति, स्वास्थ्य, शिक्षाको पहुँचसहित बाँच्न पाउने वातावरण र बालबालिकामा लगानी बढाउदै सुनिश्चित भविष्य तयार पार्नु पनि सामाजिक सुरक्षा हो, भन्नुभयो ।

उहाँले सरकारले हाल बालपोषण भत्ताका लागि प्रदान गरेको ५३२ रूपियाँ रकममा बढाएर यस्तो सेवा लिनुपर्ने आवश्यक वर्गका देशभरका बालबालिकालाई बालपोषण भत्ता प्रदान गरेर स्वस्थ नागरिक तयार गर्ने योजनामा लगानीमा बढाउन आवश्यक रहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक डा. दीपेश घिमिरेले सामाजिक सुरक्षा सम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै हाल सामाजिक सुरक्षाका ८४ कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले सामाजिक सुरक्षाको वर्तमान अवस्था, उपलब्धि, समस्याबारे चर्चा गर्दै सबै नागरिकको पहुँचमा सामाजिक सुरक्षा कार्यक्रम पु¥याउन पुनरावालोकनको आवश्यकता रहेको बताउनुभयो ।

संविधानसभाका सदस्य एवं अभियन्ता डोल्मा तामाङले सन् २०१२ देखि अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन गरेको पहल अझै पुरा नभएको बताउनुभयो । नगरपालिका महासङ्घका कार्यकारी निर्देशक कलानिधी देवकोटाले समानताको अवधारणा अन्तरगत समाजमा पछि परेका वर्गलाई समान सेवा, सुविधा उपलब्ध गराउने लक्ष्य अनुसार समाजिक सुरक्षा सेवा सुरू भएको बताउनुभयो । उहाँले कर धेरै तिर्न सक्ने र नसक्ने दुवै वर्गले राज्यले उपलब्ध गराउने न्युनतम सेवा सुविधा बराबर नै उपभोग गर्न पाउने अवसर सामाजिक सुरक्षा सेवाले प्रदान गर्नुपर्ने बताउनुभयो ।

हाल नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला,लोपोन्मुख र सिमान्तकृत वर्गका लागि प्रदान गर्ने सामाजिक सुरक्षा सेवा,भत्ता बढि लोकप्रिय रहेको छ भने औपचारिक, अनौपचारिक क्षेत्रका कर्मचारी तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सामाजिक सङ्घ सस्था, टे«ड युनियन र स्थानीय तह अन्य सरोकारवालाको भुमिकाको बारेमा वृहत छलफल भएको थियो ।

संविधानको धारा ४३ मा सामाजिक सुरक्षाको हक सम्बन्धी व्यवस्था छ । जसमा आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भन्ने उल्लेख छ ।

यसैगरी धारा ५१(ञ) सामाजिक सुरक्षा र राज्यका नीतिमा उत्पीडित तथा पिछडिएको क्षेत्रका नागरिकको संरक्षण उत्थान सशक्तिकरण विकास र आधारभुत आवश्यकता परिपूर्तिका अवसर तथा लाभका लागि विशेष व्यवस्था गर्ने । सामाजिक सुरक्षा र सामाजिक न्याय प्रदान गर्दा सबै लिङ्ग क्षेत्र र समुदायका आर्थिक रुपले विपन्नलाई प्राथमिकता प्रदान गर्ने उल्लेख छ ।

यसैगरी सामाजिक सुरक्षा ऐन, २०७५, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, स्वास्थ्य बीमा ऐन २०७३ लगायतका ऐन कार्यन्वयन भएका छन् । यसको आधारमा नेपाल सरकारले सामाजिक सहायता, सामाजिक विमा, योगदानमा आधारित सामाजिक सुरक्षा श्रम बजार र रोजगारी, कानुनी सहायतालगायतका ८४ किसिमका योजना सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई