‘विदेश र शिक्षाः भयावह युवाको अवस्था’

गोपी न्यौपाने

स्कोलरसिपका विदेशी विज्ञापन हेरेर तपाईंहरु भ्रममा नपर्नुहोस्, कसैले पनि स्कोलरसिप पाउनुहुन्न । स्कोलरसिप भनेको तपाईंलाई अष्ट्रेलिया लगेर भाँडा मोल्ने, भूई पुछ्ने, गाडी सफा गर्ने काम दिने हो । तपाईंलाई थाहा छ, पक्कैपनि यी स्कोलरसिपका नाटक मात्रै हुन । अष्ट्रेलियाको प्रमुख दोश्रो आय श्रोत एजुकेशन पर्छ । नेपालबाट मात्रै वर्षको ७० अरब नेपाली रुपैयाँ बराबर विद्यार्थीले विदेश लैजान्छन् । खाडी मुलुकमा दु:ख गरेर ल्याएको पैसो । सरकारले यो कुरालाई गम्भीरतापूर्वक लिई फूल स्कोलरसिपमा ब्याचलर तथा माष्टर, पिएचडी गर्न जानेलाई मात्र एनओसी दिने व्यवस्था गर्नुपर्छ, हैनभने अबको १० वर्षमा भोट माग्न उतै अष्ट्रेलिया, अमेरिका, युरोप कता कता गए हुने अबस्था आइसक्यो ।

म ग्यारेन्टीका साथ भन्छु, मेडिकल र इन्जिनियरिङको शिक्षामा नेपालको जतिको व्यवहारिक र अभ्यासमा आधारित शिक्षा अन्यत्र पाउन कठिन छ । मात्रै राजनीतिक दलले शिक्षालयहरुलाई राजनीति भन्दा अलि पर राखे मात्रै पुग्छ । म कुनै अमुक देशको विरोधी होइन, मैले अष्ट्रेलियामा गरेको एक महिनाको रिसर्चको आधारमा भनेको हो, एक महिनाको अध्ययन पूर्ण नहुन सक्छ तर नेपालमा युवा पुस्ताको अवस्था भयावह छ त्यसबाटै स्वत: पुष्टि हुन्छ । विदेश जाँदा आफू नेपाल फर्कने सोचका साथ जानुहोस्, त्यसका लागि तपाईं परिपक्व हुनैपर्छ । १२ पढेका विद्यार्थी आफै निर्णय गर्न सक्दैनन र देखासिखीमा अभिभावकलाई प्रेसर मात्र दिन्छन् ।

नेपालबाट वर्षेनी ७० अरब बराबरको विदेशी मुद्रा जो खाडी मुलुकबाट ५० डिग्री तापक्रममा काम गरेर पठाइएको हो । अध्ययनका लागि खर्च गरिरहेका छौं । यति ठूलो लगानी अनि प्रतिफल के त ? युवाहरुलाई विदेशीको गुलाम बनाउने पिआर ? कि अरु के ? कति बाहिर गए ? कति रेमिटेन्स पठाए ? कति फर्के ? हामीसँग तथ्यांक नै छैन । साच्चै भन्ने हो भने फर्कने छदै छैनन् भने पनि हुन्छ । मेडिकल र इन्जिनियरिङलगायतका विषयमा अव्वल हुँदाहुँदै पनि किन विदेश ? को जिम्मेवार ? त्यसैले आजैदेखि विश्वविद्यालय, कलेजहरु, विद्यार्थी संगठन तथा विद्यार्थीहरु सबैले मम भनेर आ-आफ्नो क्षेत्र सुधार गरौं ।

सुझाव विद्यार्थीलाई: –

– यदि तपाईं अष्ट्रेलिया जानुभयो भने स्नातकमा तपाईले पूरा क्लास लिनुपर्छ । बचेको समय काम गरेर फी तिर्नुपर्छ, खान बस्न व्यवस्था गर्नुपर्छ । यो कठीन कार्य हुनेछ, सौखिन विद्यार्थीको लागि ।

– काम पनि गर्नुपर्ने अनि पढ्नुपनि पर्ने । धेरैजसो विद्यार्थीलाई संभव हुँदैन । यता बा आमाले लिएको ऋणको सावाँ ब्याज बुझाउने बेलामा बजेको घण्टीले तपाईंको घाउमा नुन छर्के जस्तो हुनेछ ।

– अब तपाईमा दुईटा विकल्प रहन्छन, कि तपाईंले काम छोडेर पढाइ गर्नुपर्यो कि पढाइ छोडेर काम । पहिलो सेमिष्टर फी यतैबाट तिरेको हुनाले जेनातिना छ महिना एक वर्ष धानिन्छ । एक वर्ष पछि बाध्य भएर पढाइ छोड्नै पर्ने हुन्छ ।

– अब पैसो कमाउन थाल्नुहुन्छ, पैसा सक्ने मोज मस्ती गरेर तपाईंको जीवनचर्या बित्न थाल्छ । अब यता घरको हालत त के सम्पर्कमा समेत बस्नुहुन्न ।

– त्यसपछि तपाईं नेपाल फर्कनै सक्नुहुन्न । यता अभिभावक छोराछोरी विदेशमा पढ्दै होलान भनेर मख्ख, उता तपाईंको हालत नेपालप्रतिको मोह घट्दै ।

– अबको एउटा बिकल्प भनेको पिआर लिने मात्र रहन्छ तपाईंको । अनि भौतारिदै पोइण्ट धेरै पाउने स्टेट तिर गएर अनेकन संघर्ष पछि पिआर हात पार्नुहुन्छ र उतै बसोबास गर्नुहुन्छ ।

– यता बा आमाको हालत खराब हुँदै जान्छ । बिस्तारै बृद्ध अवस्थामा गुज्रिएको हुन्छ । तपाईं पैसा त पठाइदिनुहुन्छ, ऋण पनि तिर्नुहोला तर तपाईंलाई हुर्काउन बढाउन गरेको बा आमाको ऋण कहिल्यै तिर्न सक्नुहुन्न । यतिमात्र होइन कथमकदाचित मातापिता गुमाउँदा पनि तपाईं समयमा आइपुग्न सक्नुहुन्न, यो तीतो यथार्थ हो ।

– त्यो दिन तपाईंलाई पश्चाताप हुनेछ, जुन दिन तपाईं पनि अशक्त र बृद्ध हुनुहुनेछ ।

– तपाई ब्याचलर गर्न होइन माष्टर गर्न जानुहोस, पिएचडी गर्न जानुहोस, तपाईंको काम गर्ने समय मिल्नेछ, तपाईंले विदेशी शिक्षा लिएर नेपालमा प्रयोग गर्न सक्नुहुनेछ ।

– तपाईंको कर्तव्य नेपालको रहनसहन, परम्परा, संस्कृति, रितिरिवाज र असल सन्तान, अझ असल नागरिक बन्ने पनि हो ।

थप सुझाव: –

– स्नातकमा फूल स्कोलरसिप पाएका,माष्टर र पिएचडी गर्न जाने बाहेक अरुलाई एनओसी नदिन सरकारलाई आग्रह गरौं, दबाब दिऔं ।

– कोटाभन्दा बढी विद्यार्थी भए भने छनौट गर्ने उपयुक्त विधि हो प्रवेश परीक्षा । कोटा भन्दा कम विद्यार्थी भए भने उनीहरुको तोकिएको शैक्षिक योग्यता पुगेमा प्रवेश परिक्षा लिनु पर्दैन, नाटक नगरौं ।

– न्यूनतम शैक्षिक योग्यता पुगेपछि प्रवेश परीक्षामा मेरिटको आधारमा रिजल्ट निकाल्ने हो कसैलाई फेल पार्न मिल्दैन ।

– विदेश जाने विद्यार्थीले कम्तिमा नेपाली विश्वविद्यालयको प्रवेश परिक्षामा पास गरेको प्रमाण पेश गर्नै पर्ने गरि बाध्य बनाउनुपर्छ ।

– त्रिभुवन विश्वविद्यालयबाट वा अरु विश्वविद्यालयबाट रितपूर्वक प्रवेश परिक्षामा पास गरेको विद्यार्थीले अर्को विश्वविद्यालयको पुन: प्रवेश परिक्षामा पास गर्नुपर्ने नियम बेठीक छ ।

यस्तै यस्तै कुरामा ध्यान दिन जरुरी छ, तालाबन्दी नगर्ने अनेरास्ववियुको घोषणालाई हार्दिक स्वागत गर्दै गुणस्तरीय शिक्षा मार्फत बढी विद्यार्थी संख्या उत्तीर्ण हुने वातावरण बनाऔं । शिक्षामा राजनीति कम हुँदै गयो भने अष्ट्रेलियाले आफ्नो आय श्रोतको प्रमुख दोस्रो हिस्सा शिक्षालाई बनाए जस्तै नेपाललाई पनि पर्यटकीय शैक्षिक हब बनाउन सकिन्छ ।

अन्त्यमा, तपाईहरु जस्तै युवाको हातमा नेपाल हाक्ने ड्राइभरको लाइसेन्स हात पर्नुपर्छ । बालेनजीले गरेर देखाउँदै हुनुहुन्छ त ? अनि तपाईं चै ? अब पुस्ता खोज्न विदेश धाउनुपर्ने, पुस्तै नरहने, हाडनाता समेतको ख्याल नगरी विवाह हुन सक्ने खतरा पनि बढ्न सक्छ । यी सबैखाले विकृति, विसंगति रोक्न पनि स्नातकसम्मको शिक्षा नेपालमै राम्रो हुन्छ ।

(लेखक : हिलसाइड कलेज अफ इन्जिनियरिङको प्रबन्ध सञ्चालक हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ जेठ । सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीका अनुसार बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक

काठमाडौँ, १९ जेठ । काठमाडौँको ठमेलमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।  काठमाडौँ उपत्यका

काठमाडौँ, १९ जेठ । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति जिप

काठमाडौँ, १९ जेठ ।कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कैलालीमा लम्कीचुहा नगरपालिका–६