काठमाडौँ, १ असार । यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी आगामी आइतबारबाट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए । यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट फ्रिक्वेन्ट फ्लायर (समय–समयमा विदेश गइरहने)लाई ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो ।
यस्तै सामान्यतया विदेश जाने सेवाग्राहीलाई विभागले ३४ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा दिँदै आएको थियो । विभागले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयहरु र विदेशस्थित सबै नेपाली नियोगहरुलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराएको विभागले जनाएको छ ।





