काठमाडौँ, १८ असोज । नेप्से ७ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।
गत फागुनमा १६३२ अंकसम्म पुगेर ओरालो लागेको नेप्से लकडाउन खुलेपछि बजार खुलेयता लगातार बढिरहेको छ । दुई साताअघि १५७५ अंकसम्म पुगेको नेप्से आइतबार १५८० भन्दा माथि पुगेको छ ।
आइतबार साताको पहिलो दिने बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज प्रि-ओपनिङ सेसनमा ६ अंकभन्दा माथिले वृद्धि भएको नेप्सेमा बजार खुलेसँगै उछाल देखिएको थियो । बजार खुलेको ७ मिनेटमा नै नेप्से साढे १७ अंकभन्दा माथिले बढेर १५८८.६५ अंकसम्म पुगेको थियो । आइतबार बजार परिसूचक दोहोरो अंकले बढ्यो भने कारोबार रकम पनि ३ अर्ब पुगेको छ ।
आइतबार बजार परिसूचक १४.७१ अंकले वृद्धि हुँदा नेप्से ७ महिनापछिकै उच्च बिन्दु १५८५.७६ अंकमा बन्द भएको छ । बैंकिङ, विकास बैंक र अन्य समूहका कम्पनीको सेयर मूल्य वृद्धि हुँदा नेप्से पनि बढेको हो । आइतबार नेप्सेमा हाइड्रोपावर र म्युचुअल फन्डबाहेक सबै समूहको सूचकमा हरियाली देखिएको छ ।
बजारलाई नेतृत्व गर्ने बैंकिङ समूहको सूचक १.१४ प्रतिशतले वृद्धि हुँदा विकास बैंक समूहको सूचक १.२१ प्रतिशत, उत्पादन समूहको सूचक ४.७८ प्रतिशत, व्यापार समूहको सूचक १.४९ र अन्य समूहको सूचक १.१ प्रतिशतले बढेको छ । यता हाइड्रोपावर समूहको सूचक भने १.१८ र म्युचुअल फन्ड समूहको सूचक ३.२१ प्रतिशतले घटेको छ ।
नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । सेन्सिटिभ इन्डेक्स २.१९ अंकले बढेर ३२१.२५ अंकमा बन्द भएको छ । आइतबार बजारमा १९५ कम्पनीको १ करोड ७ लाख १३ हजार ३२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १७ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ४५ हजार ७६३ वटा कारोबारबाट उक्त रकमको सेयर किनबेच भएको हो ।
आइतबार नेप्सेमा सबैभन्दा धेरै रकमको सेयर कारोबार शिवम् सिमेन्टको भएको छ । कम्पनीको २६ करोड ८६ लाख १३ हजारको सेयर किनबेच भएको छ । यस्तै नेपाल पुनर्बिमा कम्पनी, एनसीसी बैंक, हिमालयन डिस्टिलरी र नेपाल बैंक कारोबार रकममा अगाडि देखिएका छन् ।
आइतबार बजारमा धेरै कमाउनेमा पनि कर्पोरेट डेभलपमेन्ट बैंकपछि शिवम् सिमेन्टकै लगानीकर्ता देखिएका छन् । यता खानिखोला, युनियन र दिव्येश्वरी हाइड्रोपावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।