काठमाडौँ, १८ माघ । चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन् । चीनले हुपेई प्रान्तको सदरमुकाम उहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्किन नपाउने भएका हुन् ।
झापाको दमकस्थित लाइफलाइन अस्पतालका शल्य चिकित्सक उनी डिसेम्बर १० मा सात वर्षीया छोरी स्मारिकालाई लिएर चीन घुम्न आएका थिए । डा. भट्टराईको फर्किने टिकट जनवरी ३० तारिखको थियो । दुई महिने भिसामा आएका उनको भिसा अवधि पनि फेब्रुअरी ९ मा सकिँदै छ ।
भट्टराईको फर्किने कार्यतालिकाभन्दा एक साताअगाडि चीन सरकारले हुपेई प्रान्तलाई सिल्ड गरिएको छ । डा. भट्टराईकी पत्नी जानुका भुसाल उहाननजिकैको चिङ्चौ सहरस्थित याङ्चे विश्वविद्यालयमा स्त्री तथा प्रसूति रोग विषयमा एमडी गर्दै छिन् । उनले नै जाडो बिदा पारेर पति र छोरीलाई चीन घुम्न बोलाएकी थिइन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।





