‘वातावरण प्रदुषणको निहूँमा इँटाभट्टा वन्द गरी भारतबाट इँटा आयात गर्ने ?’

बलराम प्यासी । कुनैबेला चोभारमा रहेको हिमाल सिमेन्ट लिमिटेडले त्यतिखेर काठमाडौ उपत्यकामा मात्रै नभई काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ्ग र नुवाकोटसम्म सर्वसुलभरुपमा गुणस्तरीय सिमेन्टको माग पुरा गथ्र्याे । सयौं स्थानीय वासिन्दाले त्यहाँ रोजगार पाएका थिए । तर एकाएक विदेशी सिमेन्ट उत्पादकका एजेन्ट (दलाल) को लहैलहैमा आर्थिक प्रलोभनमा परी वातावरण प्रदुषणको नाउँमा चोभारका वासिन्दा उचालिएर र नारा जुलुस गरे । फलस्वरुप केही समयपछि मासिक हजारौं बोरा सिमेन्ट उत्पादन गर्दै आएको हिमाल सिमेन्ट पुर्णरुपमा बन्द भयो । तर सो उद्योगमा प्रत्यक्ष रोजगारी पाएका सयौं कर्मचारी र श्रमिक वेरोजगार भए, अप्रत्यक्षरुपमा जोडिएकाहरुको पनि रोजगारी खोसियो । अनि राजधानी लगायत सो कारखानाले आपुर्ति गरिराखेको सिमेन्टको बजार भारतीय सिमेन्टले लियो । करोडौं मुल्यका उपकरण र औजारहरुमा खिया लागेर हिमाल सिमेन्ट लिमिटेड अहिले खण्डहर बन्न पुग्यो । आफ्नो योजना सफल भएकोमा दलालहरु दंग परे । केही दलालहरुले काठमाडौंमा नयाँ घरबार जाड्न सफल भए । आन्दोलन गरेर सिमेन्ट कारखाना बन्द भएपछि वेरोजगार बनेका केहीले त त्यतिखेर आत्महत्यासमेत गरे ।

अहिले राजधानीमा फेरि यस्तै घटना दोहोरिने क्रममा छ । विकास निर्माणको लागि नभई नहुने पहिलो नम्बरको भौतिक वस्तु इँटाको उत्पादनमा धेरैको नकारात्मक रुपमा आँखा गढेको छ । विगतमा राजधानीमा घर कम, खुल्ला क्षेत्र अर्थात खेतीपाती धेरै थियो । शहरका कुनाकुनाका खेतमा सयौं इँटाभट्टाहरु सञ्चालित थियो । धान काटेर वाली भित्र्याएपछि गहुँ नछर्दै हरेक हिउँदमा इँटाभट्टा सञ्चालकहरुले ती जग्गा भाडामा लिएर त्यसको माटोले इँटा बनाएर भट्टामा लगेर पोल्थे । न त्यतिखेर वातावरण प्रदुषणको कुरा उठ्थ्यो न इँटा नै महंगो थियो । किनकी उपत्यकाका आदिवासी वासिन्दालाई यसको चासो नै थिएन ।

तर राजधानीमा अहिले अनियन्त्रित रुपमा र विना योजना वस्ती विस्तारको क्रम बढीरहेको छ । हरेक वर्ष हजारौं संख्यामा घरलगायत ठुलाठुला भौतिक संरचना बन्ने क्रम बढीरहेको छ । सार्वजनिक जग्गादेखि खोला किनार, चिहान र मसानघाट समेत मिचेर घर बन्ने क्रम बढीरहेको छ । ठाउँ कुठाउँमा सस्तो जग्गा किनेर घर टहरा बनाउने अनि परम्परादेखि चल्दै आएका उद्योग, कलकारखाना लगायतलाई हटाउन वातावरण प्रदुषणको आरोप लगाउने एकथरी गुटको पेशा नै बनेको छ अहिले ।

उपत्यकामा सञ्चालनमा रही उपत्यकाको इँटाको बढ्दो मागलाई पूर्णरुपमा आपूर्ति गर्दै आएका इँटाभट्टाहरुलाई पछिल्लो समय वातावरण प्रदुषणको नाउँमा विस्थापित गर्ने चलखेल भईरहेको इँटाभट्टा सञ्चालकहरुले गुनासो गर्दै आएका छन् । तर उनीहरुको आवास सुन्ने कोही छैन यहाँ । इँटाभट्टा सञ्चालनमा रहेका क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रशासकहरु जग्गा दलाल र भूमाफियाहरुसंग मिलोमतो गरि वातावरण जोगाउने निहुँमा इँटाभट्टा सञ्चालकहरुसंग वार्गेनिङ्ग गरिरहेको सुन्नमा आएको छ । एकातिर केही जनप्रतिनिधि र प्रशासकहरु एकथरी जमातलाई उचालेर वातावरण जोगाउन नाराजुलुस गर्न लगाउने र अर्कोतर्फ यसै विषयलाई लिएर इँटाभट्टा सञ्चालकहरुसंग वार्गेनिङ्ग गर्ने दोहोरो भूमिकामा देखिएको आरोप लाग्दै आएको छ । वार्गेनिङ्ग मिलेमा इँटाभट्टा सञ्चालनमा कुनै वाधा अवरोध नगर्ने, नमिलेमा भने उद्योगको नविकरण नगर्ने, स्थानीय करमा वृद्धि गर्ने र विभिन्न प्रशासनिक झमेला थोपरिदिने गरेको इँटाभट्टा सञ्चालकहरुको गुनासो रहेको छ ।

एउटै मुलुकको सरकारको एउटा निकायले सबै प्रकृया पुर्याई सञ्चालन गर्न स्विकृति दिएको उद्योग त्यही सरकारको अर्काे निकायले विभिन्न अवरोध खडा गर्दै विना कारण वन्द गर्न दवाव दिएर दुःख दिन्छ भने करोडौं लगानी गरेर उद्योग सञ्चालन गर्नेको पीडा अरु के हुनसक्छ ?

गोडामा क्यान्सर लाग्यो भन्दैमा पहिला त्यसको उपचार गर्ने कि उपचारनै नगरी शुरुमै गोडा काटेर फ्याँक्ने ? त्यस्तै वातावरण प्रदुषण गर्यो भन्दैमा पचासौं वर्षदेखि सञ्चालित इँटाभट्टाहरुलाई कम प्रदुषण गर्ने उपाय सिकाउने कि उद्योग नै बन्द गरिदिने ? बुद्धि विवेक भएका कोही छैन यहाँ ?

कुनै समय इँटा पारेपछि बढी धुवाँ आउने खालको ‘ठाडो अवाल’ पद्धतिबाट पोलिँदै आएको इँटा फलामे पाताको चिम्नी भट्टा, त्यसपछि फिक्स चिम्नी भट्टा, अनि जिक ज्याक फोर्स चिम्नी भट्टा हुँदै अहिले निकै कम वातावरण प्रदुषण गर्ने खालको वातावरणमैत्री टनेल प्रविधिको भट्टाबाट इँटा पोलिँदै आएको इँटा उद्योग सञ्चालकहरु बताउँछन । विगतको तुलनामा हाल उपत्यकामा सञ्चालित अधिकाँश इँटाभट्टाहरु क्रमशः निकै सुधारिईसकेका छन् भने कतिपय सुध्रिने क्रममा छन ।

‘पहिला सय प्रतिशत प्रदुषण गर्ने इँटाभट्टाबाट अहिले २० प्रतिशत पनि प्रदुषण र धुलोका कण आउँदैन ’—ओमश्री मच्छिन्द्रनाथ इँटा उद्योग सतुंगलका सञ्चालक तीर्थलाल महर्जन भन्छन । तथापि इँटाभट्टाले वातावरण विगार्यो भनेर एउटा समुदाय र प्रायोजित समूह भने सँधै इँटाभट्टाको विरोध गरिरहेका छन । मानौं विरोध गर्नुमात्रै उनीहरुको दायीत्व हो ।

यसरी वातावरण प्रदुषणको निहुँमा हिमाल सिमेन्ट कारखाना बन्द गरिएजस्तै काठमाडौं उपत्यकामा सञ्चालित सबै इँटाभट्टा बन्द गरी त्यसमा आश्रीत हजारौंलाई वेरोजगार बनाउँदै भारतबाट महंगो मुल्यमा इँटा आपुर्ति गर्नु उचित कि हाल सञ्चालित इँटाभट्टालाई न्यून प्रदुषण गर्ने वातावरणमैत्री बनाएर या सुधार गरेर इँटा उद्योगलाई सञ्चालन गर्न दिनु उचित ? देशमा रोजगार नपाएर दिनँहू सयौं युवालाई विदेशिन वाध्य पार्नु उचित कि स्वदेशमै काम गर्न प्ररित गर्नु उचित ? करोडौं रुपैयाँ विदेश पठाउनु उचित कि देशभित्रै राख्नु उचित ? यसबारे सोच्ने शक्ति भएका कोही छैनन मुलुकमा ?

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा