ललितपुर, १० साउन । पछिल्लो समयमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने युवापुस्तामा लहडले गर्दा उनीहरुमा टाउको र घाँटीसंग सम्वन्धित क्यान्सर बढीमात्रामा भेटिन थालेको क्यान्सर विशेषज्ञले बताएका छन् ।
विश्व टाउको र घाँटी क्यान्सर दिवसको पुर्वसन्ध्यामा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा आयोजित कार्यक्रममा अस्पतालका वरिष्ठ इएनटि कन्सल्टयान्ट डा.प्रभात चन्द्र ठाकुरले विगतका वर्षमा ४५ वर्षभन्दा माथिका पुरुषहरुमा मुख र घाँटीको क्यान्सर भेटिने गरेकोमा अहिले त्यो २२ वर्षको उमेरदेखि नै भेटिन थालेको बताए । २७ जुलाई अर्थात साउन ११ गते शनिबार विश्वभरी विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ विश्व टाउको र घाँटी क्यान्सर दिवस मनाइँदैछ ।
साथीहरुको लहैलहैमा सुर्तीजन्य पदार्थको सेवनका कारण घाँटी र मुखको क्यान्सर हुने युवाहरुको संख्या बढीरहेको बताउँदै डा.ठाकुरले यस्ता पदार्थको सेवनबाट जिव्रो, भित्री गाला र गीजामा समेत क्यान्सर हुने गरेको पाइएको उनले बताए । ‘मदिराले पेट र फोक्सोमा असर गरेजस्तै सुर्तीजन्य पदार्थको सेवनले घाँटी र मुखको क्यान्सर बढाउन मद्धत गरिरहेको छ’ उनले भने ।
नेपाल क्यान्सर अस्पतालको स्थापनादेखि वहिरंग र शल्यक्रिया विभागको हालसम्मको तथ्यांक हेर्दा ९० प्रतिशत विरामीमा टाउको र घाँटीसंग सम्वन्धित क्यान्सर पाइएको बताउँदै उनले रुद्रघण्टी, र्यालग्रन्थी, थाइराइड र पिनासमा पनि क्यान्सर पाइएको बताए । ‘यस्ता क्यान्सरका विरामीको संख्या दुईवर्षमा दश गुनाले बढेकोछ’—उनले भने ।
अस्पतालका मेडिकल डाइरेक्टर विजेशराज घिमीरेले डाक्टरहरुको दक्षता र अस्पतालको सेवाको गुणस्तरका कारण समयमै निदान भएका विरामीको क्यान्सर समयमै निको हुने गरेको बताउँदै उनले जुनसुकै रोगको निदान र उपचारको लागि प्रविधियुक्त सुविधासम्पन्न अस्पतालमा जानुपर्ने सुझाव दिए ।
अस्पतालको इएनटि विभागका वरिष्ठ कन्सल्टेन्ट प्रा.डा.रामछायाँ मान अमात्यले विगतमा “क्यान्सर, नो एन्सर” अर्थात क्यान्सर लाग्यो कि मर्नुपर्ने वाध्यताबाट अहिले नेपालीहरु धेरै अगाडि आइसकेको उल्लेख गर्दै समयमै क्यान्सरको निदान र उपचार भएमा त्यस्ता व्यक्ति लामो समय बाँच्ने गरेको पनि उल्लेख गरे ।
रक्सी र सुर्तीजन्य पदार्थ (चुरोट, सुर्ती, पानपराग) कहिल्यैपनि सेवन नगर्न उनले सर्वसाधारणलाई आग्रह पनि गरे ।
त्यस अवसरमा अस्पतालको इपिडिमियोलोजि विभागका उपनिर्देशक डा. मुरारीमान श्रेष्ठ, वरिष्ठ कन्सल्टेन्ट हरीप्रसाद ढकालले इएनटि क्यान्सर पत्ता लगाउन विशिष्टीकृत सुविधासम्पन्न प्याथोलोजी ल्यावको महत्वबारे जानकारी दिए । धेरै चिसो, धेरै तातो, विषादीयुक्त खाद्यान्न र तरकारी, रंग मिसिएका मिठाईहरु पनि क्यान्सरको अर्काे कारण भएको ढकालले बताए ।






