काठमाडौँ, ३ मंसिर । बलिउड अभिनेता शाहरुख खान विश्वका ‘अल टाइम १०० ग्रेटेस्ट सुपर स्टार्स’ को सूचीमा पर्न सफल भएका छन् । यो सूचीमा पर्ने उनी एक मात्र भारतीय कलाकार हुन् ।
सुपरस्टार शाहरुखको लोकप्रियता भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै छ । यही विश्वव्यापी क्रेजका कारण उनी संसारभरका नामी फिल्म कलाकारहरूसँगै उत्कृष्ट १०० सिताराको सूचीमा परेका हुन् ।
‘अल टाइम १०० ग्रेटेस्ट सुपर स्टार्स’ को यो सूची प्रसिद्ध अन्तर्राष्ट्रिय म्यागजिन ‘भेराइटी’ ले सार्वजनिक गरेको हो । यस सूचीमा शाहरुख खानले मर्लिन मुनरो, चार्ली च्याप्लिन, ज्याक निकोलसन, क्याथरिन हेपबर्न र टम क्रुजजस्ता विश्व प्रसिद्ध दिग्गज कलाकारहरूसँगै स्थान बनाएका छन् ।
सूचीको शीर्ष ५ मध्ये पहिलो नम्बरमा मर्लिन मुनरो रहेकी छन् । त्यस्तै, दोस्रो स्थानमा हम्फ्री बोगार्ट, तेस्रोमा चार्ली च्याप्लिन, चौथोमा ज्याक निकोलसन र पाँचौँ स्थानमा क्याथरिन हेपबर्न रहेका छन् । सूचीमा शाहरुखको नाम ९२औँ स्थानमा छ ।
शाहरुखको आगामी फिल्मको कुरा गर्दा उनी छिट्टै ‘किङ’ मा देखिँदैछन् । यो फिल्म सन् आगामी डिसेम्बर २४ मा प्रदर्शनमा आउँदैछ । यसै फिल्म मार्फत शाहरुखकी छोरी सुहाना खानले पनि ठुलो पर्दामा डेब्यु गर्दैछिन् ।







