ललितपुर, ९ मंसिर । कितावमा पढेको तर नजिकबाट हेर्दा जंगली जनावरहरु बाघ, भालु, चितुवा, बाँदर, स्याल, मृग, हात्ती, गैंडा कस्ता देखिन्छन ? तिनीहरु कहाँ र कसरी बस्छन, के खान्छन, तिनीहरुको वानी व्यहोरा कस्तो हुन्छ ? गीद्ध, चिल, ढुकुर, कालिज, पानी हाँस, मयुरलाई चिडियाखानामा कसरी जोगाएर राखिएको छ ? यस्तै कुरा नजिकबाट बुझ्न र तिनीहरुको आनीवानी नियाल्न भक्तपुर युरो किड्स सल्लाघारीका करीव सयजना साना केटाकेटी जाउलाखेलको सदर चिडियाखाना अवलोकन गरेर आएका छन् ।

विभिन्न चरणमा गरि तिनीहरुलाई चिडियाखानाको अवलोकन र अध्ययन भ्रमण गराईएको भक्तपुर युरो किड्सका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताए । विद्यालयमा वन्यजन्तु र पशुपन्छीबारे कितावमा पढेको कुरा चिडियाखानामै गएर हेरेपछि सँधै याद आउने र त्यसबारे अरुलाई पनि बताउन सक्ने हुनाले प्रायः हरेक विषय पढाउने वितिक्कै त्यससंग सम्वन्धित ठाउँमा केटाकेटीलाई लैजाने गरिएको काफ्लेले बताए ।

यसअघि बजारबारे पढाएपछि विद्यार्थीलाई झोला र पैसा दिएर साधारण तरकारी फलफूल बजारदेखि भाटभटेनी सुपरस्टोरसम्म विद्यार्थीलाई लगेको भक्तपुर युरो किड्सले केहीदिन अघि गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा लगेर मौरी पालनदेखि त्यहाँको प्राकृतिक सुन्दरता, खोलानाला, विभिन्न प्रजातिका फलफूलका बोटविरुवाबारे ती केटाकेटीलाई स्थलगत जानकारी गराएको थियो ।





