कञ्चनपुर, १७ असार । कञ्चनपुरमा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गरिने अभियान थालेको छ ।
सात नगरपालिकामा एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन हुन लागेको हो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार दुई दिनभित्रै शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, भीमदत्त, महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका शहरी र शहरोन्मुख क्षेत्रमा लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन हुने बताए ।
लार्भा नियन्त्रण गर्न सातै नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको टोलीले घरघरमा पुगेर लामखुट्टेले फुल पार्ने ठाउँ पानीट्याङ्की, गाग्रो, दहीको कतारो, बाल्टिन तथा ड्रम, गमला, टायरको पानी फाल्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्नेलगायतका कार्य गर्ने बताइएको छ ।






