काठमाडौँ, ६ असार । क्यानाडाको आधिकारिक ग्लोबल टी-ट्वान्टी क्रिकेट लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र सोमपाल कामी अनुबन्ध भएका छन् ।
राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो नेसनल्सले १०औँ चरणमा ६० हजार अमेरिकी डलर खर्चेर खरीद गरेको हो । विदेशी फ्रेन्चाइज लिग खेल्ने दोस्रो नेपाली क्रिकेटर बनेका सोमपाल विनिपेग हक्समा अनुबन्ध भएका छन् । उनी पहिलो पटक ग्लोबल टी ट्वान्टी लिग खेल्न लागेका हुन् । ड्राफ्टमा तीन हजार अमेरिकी डलर न्यूतम रकम राखेका सोमपाललाई ११औँ चरणमा हक्सले सोही मूल्यमा अनुबन्ध गरेको हो ।
उक्त प्रतियोगिताका लागि नेपालबाट १२ खेलाडीले नाम दर्ता गराएकामा दुई खेलाडी मात्र छनोट भएका हुन् ।





