काठमाडौँ, १५ जेठ । अभ्यास खेलमा भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको छ ।
कार्डिफमा भएको खेलमा भारतले ५० ओभरमा सात विकेट गुमाउँदै ३५९ रन बनाएको थियो । भारतका लागि महेन्द्र सिंह धोनी र केएल राहुलले शतकीय योगदान दिए ।
चौथो विकेटका लागि राहुल र धोनीले १६४ रनको साझेदारी गरेका थिए । ब्यक्तिगत तर्फ केएल राहुलले ९९ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै १०८ रन बनाए । धोनीले अझ आक्रामक ब्याटिङ गरे । उनले ७८ बलमा ८ चौका र सात छक्का प्रहार गर्दै ११३ रन बनाएका थिए ।
विराट कोहलीले पनि ४७ रन बनाए । ३६० रनको लक्ष्य पछ्याएको बंगलादेश इनिङ सकिनु भन्दा तीन बल अगावै अलआउट भयो । उसका दुई खेलाडीलेमात्र अर्धशतक पार गरे । ओपनर लिटन दासले ७३ रन बनाए भने मुस्फिकर रहिमले ९० रन जोडे ।






