काठमाडौँ, ४ जेठ । उपचार गर्दै गरेका विरामीको मृत्यु भएमा स्वास्थ्यकर्मीमाथि हुने हातपात र अस्पताल तोडफोडलाई नियन्त्रण गर्दै स्वास्थ्यकर्मी र अस्पतालको सुरक्षाको साथै त्यस्ता अपराधिक कृयाकलाप नियन्त्रणको लागि एशोसियसन अफ प्राईभेट हेल्थ इन्स्टिच्युशन नेपाल (अफिन) ले सरकारसँग माग गरेको छ ।
अफिनको २० औं वार्षिक साधारणसभाको अवसरमा अफिनका महासचिव हेमराज दाहालले सरकारसंग सो माग गर्दै सरकारसँग नीजि अस्पतालको लागि आवश्यक पर्ने एम्बुलेन्स लगायत उपकरणमा कर र भन्सार छुटको व्यवस्था गर्न पनि माग गरे ।
साधारणसभाको उद्घाटन गर्दै स्वास्थय राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले नेपालको स्वास्थ्य सेवामा नीजि अस्पताल र नीजि स्वास्थ्य संस्थाको योगदानलाई नजरअन्दाज गर्न नमिल्ने बताए । उनले भने पछिल्लो समयमा जस्तोसुकै घरमा पनि अस्पताल चलाउने परिपाटीको अन्त्य हुनुपर्ने बताउँदै घर भाडामा लिँदा होस या आफुले बनाउँदा अस्पताल अस्पतालजस्तो हुनुपर्ने बताए ।

अफिनका केन्द्रीय अध्यक्ष बसन्तकुमार चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कुमार थापाले सरकारले नीजि अस्पताललाई सहयोगीको रुपमा लिएर आवश्यक सहयोग गर्नुपर्ने माग गरे ।
अफिनकी कोषध्यक्ष एवम् नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिकी निर्देशक स्वरुपा श्रेष्ठले अफिनको आयव्यय प्रस्तुत गर्दै अफिनको आफ्नै भवन निर्माणको लागि रकम संकलन गर्ने कार्य भइरहेको र अफिनसँग हाल १७५ वटा सदस्य संस्था दर्ता भइसकेको जानकारी दिइन ।






