काठमाडौँ, १२ मंसिर । चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
परियोजनाको कुल प्रगति ६५ प्रतिशतभन्दा बढी पुगेको हुँदा लक्ष्य अनुसार काम भइरहेको परियोजनाको तालुक निकाय सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले जनाएको छ । परियोजनाको अनुगमन पुग्नुका भएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष परियोजनाले सो जानकारी दिएको हो ।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठले पर्या पर्यटनका निम्ति अत्यन्तै महत्वपूर्ण मानिएको परियोजना समयमै सम्पन्न गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन् । उनले उक्त परियोजनाको मोडल सफल भए अन्य तालहरुमा पनि सोही प्रकृतिका परियोजना सञ्चालन गर्न सकिने समेत बताए ।
कर्मचारी तथा निर्माण व्यवसायीलाई द्रुत गतिमा काम गर्न निर्देशन दिँदै उनले परियोजना सम्पन्न गर्नका लागि आवश्यक सहजीकरण मन्त्रालयले गर्ने समेत उल्लेख गरे । कुल ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको सो परियोजनामा हालसम्म २ अर्ब ९६ करोड रुपैयाँ खर्च भइसकेको छ । यो कुल अनुमानित लागतको ६५.४८ प्रतिशत हो । आर्थिक वर्ष २०७३/७४ मा स्थापना भएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७४ साउनमा स्वीकृत भएको थियो ।
पोखरा महानगरपालिकाका वडा नं. ३१ र ३२ तथा रुपा गाउँपालिकालाई समेटेर अघि बढाइएको परियोजनाको प्रमुख उद्देश्य रुपातालको संरक्षण, जलाधार व्यवस्थापन, बाढी तथा भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवद्र्धन गर्नु रहेको छ । परियोजनाअन्तर्गत ६३५ मिटर लामो बाँध निर्माण, स्पिलवे तथा पुल निर्माण, तालको माटो व्यवस्थापन, सडक, पदमार्ग, पर्या पर्यटन बगैँचा र तालको बीचमा कृत्रिम टापु तथा मन्दिर निर्माणलगायतका संरचना प्रस्ताव गरिएको छ । परियोजनामा अहिले बाँध तथा स्पिलवेको काम अघि बढिरहेको छ । २८ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको कामका लागि हालसम्म १६ करोड ४७ लाख रुपैयाँ खर्च भएको छ । स्पिलवे कम ब्रिजको निर्माण अन्तिम चरणमा रहेको र मुख्य बाँध तथा कार्यालय भवनको काम पनि भइरहेको परियोजनाले जनाएको छ ।
त्यसैगरी, तालको बायाँ किनारमा ७.९ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ । तालमा थुप्रिएको माटो व्यवस्थापन तथा ड्रेजिङको पनि काम भइरहेको छ । ३९ करोड ६७ लाख रुपैयाँको लागतमा भइरहेको उक्त कामको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ । हालसम्म ५ लाख २ हजार ४४० घनमिटरभन्दा बढी माटो व्यवस्थापन गरिएको छ । आयोजनाअन्तर्गत निर्माण गर्ने लक्ष्य राखिएका तीनवटै सिल्ट ट्रयाप, १२ वटा जलाधार संरक्षण पोखरी र १०६ वटा बेड बार तथा चेक ड्याम निर्माण सम्पन्न भएका छन् ।
दुईवटा पक्की पुलमध्ये एउटा निर्माण सकिएको छ भने आठ किलोमिटर नदी नियन्त्रणको लक्ष्यअनुसार ६ किलोमिटर तटबन्ध निर्माण भएको छ । परियोजनाको संरचना निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको काम पनि अघि बढाइएको छ । स्वीकृत डीपीआरअनुसार कुल १ हजार ४७२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भए पनि आयोजनाको तत्कालीन आवश्यकता १ हजार २०० रोपनी रहेको छ । हालसम्म १ हजार ३४ कित्ताको १ हजार १८ रोपनी जग्गा अधिग्रहण गरिएको छ । यस क्रममा २३ वटा घरटहरा व्यवस्थापन गरिएको र मुआब्जा तथा जग्गा अधिग्रहणमा करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ । परियोजनामा कुल ५६९ वटा रुख कटान गर्नुपर्नेमा हालसम्म २२२ वटा कटान गरिएको छ । यसका लागि करिब १ अर्ब २९ करोड रुपैयाँ खर्च भएको विवरण आयोजनाले सार्वजनिक गरेको छ । तर इको फुटट्रेल निर्माणमा भने वनसम्बन्धी प्रक्रिया र रुख कटानको विषयले चुनौती सिर्जना गरेको छ । यसैबीच, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले चालु आर्थिक वर्ष २०८३/८४ मा विभिन्न कार्यक्रमका लागि ६८ करोड ९४ लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन भएको आयोजना प्रमुख कृष्ण प्रसाद डुम्राकोटीले जानकारी दिए । जलस्रोत संरक्षण, टारबजार संरक्षण, नदी नियन्त्रण, पहिरो व्यवस्थापन, एकीकृत नदी बेसिन सिँचाइ तथा जलस्रोत व्यवस्थापन र सिँचाइ संस्थागत विकास यस वर्षका प्रमुख कार्यक्रम हुन् । आयोजनाको कार्यक्षेत्र कास्कीसहित स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा र मनाङ गरी छ जिल्लामा फैलिएको छ । आगामी दिनमा तनहुँको चुँदी खोला नियन्त्रण तथा मनाङका तालबजार र चामे बजार संरक्षणका आयोजना अघि बढाउने तयारी पनि गरिएको छ ।







