एजेन्सी, ५ मंसिर । मध्य पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट घरहरूमा सामान्य क्षति, विद्युत् सेवा अवरुद्ध र राजमार्गमा आवागमन प्रभावित भएको छ । मानवीय क्षति भने भएको छैन ।
स्थानीय समयानुसार शुक्रबार साँझ ७ः०९ बजे जुनिन सहरबाट ३० किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर १२९ किलोमिटर गहिराइमा भूकम्प गएको पेरुको रक्षा मन्त्रालयले जनाएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस)ले पनि भूकम्पको तीव्रता ६.७ म्याग्निच्युड मापन गरेको छ । तर, यूएसजीएसले भूकम्प १०८ किलोमिटर गहिराइबाट गएको जनाएको छ ।
भूकम्पको धक्का महसुस भएपछि राजधानी लिमाको मिराफ्लोरेस क्षेत्रमा सयौँ मानिस घर तथा कार्यालयबाट बाहिर निस्किएका थिए । यसको धक्का लिमासहित अन्कास, इका, उकायाली, सेरो डे पास्को, हुआनुको र कालाओमा समेत महसुस गरिएको थियो ।
पेरुको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा निरन्तर निगरानी भइरहेको जनाएको छ ।
पहाडी क्षेत्रमा पहिरो खसेको विवरण प्राप्त भएको छ । यद्यपि, ठूलो भौतिक क्षतिको विवरण आएको छैन ।







