विराटनगर, ५ मंसिर । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालय मातहतका कार्यालयहरूको स्थलगत निरीक्षणका लागि शुक्रबार मोरङको विराटनगर आइपुग्नुभएका उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
मोरङको रानीस्थित विराटनगर भन्सार कार्यालयको एकीकृत भन्सार जाँचपास चौकीको स्थलगत अवलोकनपछि उहाँले भन्सार प्रशासनलाई राजस्व चुहावट रोक्न निर्मम भएर लाग्न र लक्ष्यअनुसार संकलनमा विशेष ध्यान दिन निर्देशन दिनुभयो । राजस्व संकलनका लागि कार्यालयलाई चाहिने पूर्वाधार र अन्य सबैखाले सहयोगका लागि मन्त्रालयलाई निर्धक्क भएर भन्न भन्दै मन्त्री डा.वाग्लेले लक्ष्यभन्दा तल राजस्व संकलन गर्ने कार्यालयहरू नोटिसमा पर्ने चेतावनीसमेत दिनुभयो ।
“राजस्व चुहावट रोक्न सबै कदम चाल्नुहोस् । त्यसमा शून्य सहनशीलताको नीति लिनुहोस् । राजस्व संकलनको ऐतिहासिक राष्ट्रिय लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्नुहोस्,” अर्थमन्त्री डा. वाग्लेले भन्नुभयो,”राजस्व संकलनको लक्ष्य प्राप्तिका आधारमा भन्सार कार्यालयहरू र यसको नेतृत्वको मूल्यांकन गरिनेछ ।”
उहाँले सरकारको “मिसन १६ खर्ब” राजस्व लक्ष्यलाई आत्मसात् गर्न पनि निर्देशन दिनुभयो । भन्सार प्रशासनमा दस्तुर वा थप दस्तुर लाग्ने झन्झट आफूले सुन्न नपरोस् भन्दै अर्थमन्त्री वाग्लेले राजस्व ठग्ने र छल्नेलाई भन्सार क्षेत्रमा संरक्षण कदापि हुनु नहुने बताउनुभयो ।
विराटनगर भन्सारको कार्यसम्पादन छिटोछरितो बनाउन आवश्यक पूर्वाधार विकासका लागि कुनै माग भए स्पष्ट राख्न पनि उहाँले भन्सार प्रशासनलाई निर्देशन दिनुभयो । उहाँले व्यापार प्रवर्द्धन र राजस्व संकलनलाई एकसाथ सरल र सहज ढंगबाट परिचालन गरेर व्यावसायिक वातावरण बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै राजस्व महाशाखा प्रमुखसमेत रहनुभएका निमित्त अर्थसचिव डा.सुमन दाहालले भन्सार बिन्दुमा लागू गरिएको एमआरपी घोषणालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले भन्सार क्षेत्रमा दुईवटा गेट बनाउन जरुरी रहेको बताउँदै अनलाइन मूल्यांकनको प्रभावकारिताका सन्दर्भमा थप छलफल जरुरी रहेको बताउनुभयो । सो क्रममा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक उमेश श्रेष्ठले कार्यालयको दैनिक कामकारबाहीबारे प्रस्तुति दिनुभएको थियो ।







