काठमाडौँ, २७ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले सडक सुरक्षा प्रणालीमा ठोस सुधार गर्नुपर्ने बताएका छन् ।
मकवानपुरको चिसापानीगढीमा बिहीबार भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा १४ जनाको मृत्यु भएपछि उनले सवारीसाधनको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरी निगरानी प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण पनि गराएका हुन् ।
छठ पर्व मनाउन परिवारसहित घर फर्किरहेका यात्रुहरू सवार ईभी हाइस दुर्घटनामा १४ जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै आङ्देम्बेले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको सम्पूर्ण उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
नेता आङ्देम्बेले भनेका छन्, ‘नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व हो। सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुँदैन?’







