ललितपुर, २२ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने उल्लेख गरेका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा नागबहाल टोल सुधार समितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले समाजलाई अघि बढाउन नकारात्मकताभन्दा सकारात्मक सोच र ऊर्जाको मात्रा बढाउनुपर्ने धारणा राखे । नेपाली समाजको मौलिकता, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आधुनिकतालाई पनि आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
उनले विकासका क्रममा पुराना सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण र नयाँपनको अवलम्बनलाई सन्तुलित रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । ललितपुरका विभिन्न स्थानमा मौलिकता र आधुनिकतालाई सँगसँगै अघि बढाइएको देख्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै सभापति थापाले भौतिक सम्पदाभन्दा पनि समाजमा कायम प्रेम, सद्भाव, विश्वास र भाइचाराजस्ता अमूर्त सम्बन्ध बढी महत्त्वपूर्ण हुने बताए ।
उनले नेपाली समाजलाई आफ्नो जरा, टोल, समुदाय, चाडपर्व र सामाजिक सम्बन्धसँग पुनः जोड्नुपर्ने आवश्यकता औंल्याए । प्रविधि र डिजिटल संसारमा मात्र सीमित नभई मानिसबीच प्रत्यक्ष भेटघाट, आपसी संवाद र सामाजिक सम्बन्धलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।







