एजेन्सी, १९ कार्तिक । इरानले भारत, चीन, इराक र कतारका जहाजलाई होर्मुज जलमार्गमा लगाइएको पारवहन प्रतिबन्धबाट छुट दिएको छ । यी देशका जहाजले अब कुनै अवरोधबिना जलमार्ग पार गर्न सक्नेछन् ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका उपाध्यक्ष अहमद हयात मोघाद्मले मंगलबार आर्थिक तथा सुरक्षा अवस्थाको समीक्षासम्बन्धी बैठकमा यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार, यी चार देशका जहाजलाई विशेष व्यवस्था र आपसी समझदारीका आधारमा छुट दिइएको हो । उनले अमेरिकी पक्षले पनि ती जहाजको आवागमनमा हस्तक्षेप नगर्ने दाबी गरे ।
कतारका जहाजमाथि इरानले कुनै पारवहन शुल्क नलगाउने स्पष्ट पार्दै उनले प्रत्येक देशलाई छुट दिनुको छुट्टाछुट्टै कारण रहेको बताए । “हामी व्यापार गरिरहेका छौँ र प्रत्येक छुटका पछाडि फरक कारण छन्,” उनले भने ।
हयात मोघाद्मका अनुसार भारतलाई दिइएको छुट इरानमा औषधि आयात सहज बनाउन केन्द्रित छ । चीनलाई दिइएको छुटको उद्देश्य इरानप्रति चीनको राजनीतिक समर्थन सुनिश्चित गर्नु हो । इरानवायर







