एजेन्सी, १८ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण गर्ने आफ्नो प्रशासनको कुनै योजना नरहेको बताएका छन् ।
मंगलबार फाइनान्सियल टाइम्स (एफटी) सँगको टेलिफोन अन्तर्वार्तामा उनले इरानसँगको तनावपूर्ण अवस्थाप्रति आफू सन्तुष्ट रहेको संकेत गरेका हुन् ।
छ मिनेट लामो अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले चाहेका अधिकांश कुरा प्राप्त गरिरहेको बताएका थिए । उनले भने, “हामीले चाहेका सबै कुरा प्राप्त गरिरहेका छौँ जस्तो देखिन्छ ।”
इरानसँगको जारी तनावका बिच ट्रम्पको यो भनाइ आएको हो । यसले तत्कालका लागि इरानमाथि थप सैन्य कारबाही गर्ने सम्भावना नरहेको संकेत गरेको छ ।
यसैबिच, नोभेम्बर ३ मा इरानको राजधानी तेहरानमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई जेलभित्र राखिएको चित्रसहितको एउटा विज्ञापन बोर्ड देखिएको थियो । यसले दुई देशबिचको तनावपूर्ण सम्बन्ध र जारी राजनीतिक टकरावलाई प्रतिबिम्बित गरेको छ ।







