काठमाडौँ, ८ कार्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भएको छ ।
सभापति गगन थापाले असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिए पनि बाँकी पदाधिकारी र सदस्यहरू पद तथा गोपनीयताको शपथ लिएका छैनन् ।
गत असोज १८ देखि २३ गतेसम्म भएको महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । त्यो केन्द्रीय समितिमा निर्वाचित भएका र निर्विरोध भएका सभापति थापा बाहेकका २३० जनाले पद तथा गोपनीयताको शपथ लिएका छैनन् । निर्वाचित भएको प्रमाणपत्र पनि पाएका छैनन् ।
कांग्रेसको निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार सभापति बाहेकका पदाधिकारी र सदस्यको पद तथा गोपनीयताको शपथ र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भइरहेको छ ।







