एजेन्सी, ८ कार्तिक । अमेरिकाको फ्लोरिडा राज्यस्थित टालाहासीमा विश्वविद्यालयको रंगशालानजिक गोली चल्दा ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये ६ जना बालबालिका तथा किशोर किशोरी रहेका छन्। उनीहरूमध्ये सबैभन्दा कम उमेरका एक जना ११ वर्षका छन्।
सीएनएनका अनुसार शनिबार राति फ्लोरिडा ए एन्ड एम विश्वविद्यालयको ब्राग मेमोरियल रंगशाला नजिक गोली चलेको हो। घटनामा घाइते हुनेमध्ये एक जनाको अवस्था गम्भीर छ भने तीन जनालाई गम्भीर चोट लागेको छ। अन्य आठ जनाको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ।
टालाहासीका प्रहरी प्रमुख लरेन्स रेभेलले पत्रकार सम्मेलनमा घटनाबारे जानकारी दिएका हुन् । घाइतेमध्ये एक जना फ्लोरिडा ए एन्ड एम विश्वविद्यालयका विद्यार्थी रहेको उनले बताए । घटनास्थलबाट भाग्ने क्रममा एक जना पीडितकी हजुरआमा पनि घाइते भएकी छन्।
रंगशालामा विश्वविद्यालयको घरेलु मैदानमा हुने फुटबल खेल सम्पन्न भएको केही घण्टापछि गोली चलेको थियो। उक्त खेलमा अर्कान्सास–पाइन ब्लफ गोल्डेन लायन्सले फ्लोरिडा ए एन्ड एम र्याटलर्सलाई ३१–२८ ले हराएको थियो । तर, गोलीकाण्डको खेलसँग कुनै सम्बन्ध थियो वा थिएन भन्ने स्पष्ट भइसकेको छैन।
प्रहरी प्रमुख रेभेलका अनुसार दुईदेखि तीन जनाबिच भएको विवादका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान गर्न प्रहरीको हिंसात्मक अपराध अनुसन्धान इकाई परिचालन गरिएको छ।







