बागलुङ, ७ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन् ।
शुक्रबार पश्चिम बागलुङको बाढीपहिरो संकटग्रस्तक्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री लम्सालले क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको पुनर्निर्माण पहिलो प्राथमिकता रहेको बताए । मन्त्री लम्सालले बाढीपहिरोबाट घरबारविहीनलाई सुरक्षितस्थानमा आवास बनाउने सरकारको योजना अघि बढेको बताए ।
उनले बाढीपहिरोका पीडितलाई खानपानका लागि मासिक रु १५ हजार राहतको पहिलो किस्ता निकासाको चरणमा रहेको र बागलुङका प्रत्येक ६ पालिकाको विपद् व्यवस्थापन कोषमा रु ४० लाखको दरले रकम पठाउने तयारी भइरहेको पनि जानकारी दिए ।
उनले बाढीग्रस्तक्षेत्र गलकोटस्थित दरमखोला आसपास क्षेत्र, बढिगाड, निसीखोला ढोरपाटनको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको झिवाखोला र कानाबगरलगायतको स्थलगत निरिक्षण गरेका थिए ।







