काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा) ले शिष्टाचार भेट गर्नु भएको छ।
मन्त्री गाैतमसँग शुक्रबार सिंहदरबारमा भएको भेटमा राजदूत इन्जाले भोटेकोशी बाढीबाट भएको क्षतिले मृत्यु भएका व्यक्तिहरू प्रति समवेदना व्यक्त गर्दै फ्रान्सबाट मानवीय सहयता प्रदान गरेको र यस्तो विकराल अवस्थाले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनको क्रुर रूप स्मरण गराएको बताउनु भयो।
जलवायु परिवर्तनको असर जहाँ जुनसुकै समयमा हुने हुँदा कानूनको राज्य, बहुपक्षीयवादमा विश्वास गर्ने राज्यहरूले आफ्नो अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्ने तर्फ गम्भीर हुनुपर्ने विषय रहेकाे बताउनुभयो।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पारस्परिक कानूनी सहायताको केन्द्र निकाय भएको हुँदा यस विषयमा दुई देश बिचको सहमति गर्नको लागि प्रकृया सक्दो चाँडो गर्न दुवै पक्ष बिच छलफल भयो।
त्यस्तै, नेपाल सरकारले नेपालको हवाई सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा प्रदायक र नियामक निकायका रूपमा दुई संरचना परिकल्पना गरी विधेयक दर्ता गरेको विषयमा छलफल भयो। राजदूत इन्जाले यसमार्फत हवाई सुरक्षा कालो सूचिबाट हट्नको लागि नेपाल सरकारबाट भइरहेका प्रयासको प्रशंसा गर्नुभयो।
भेटमा दुवै पक्षले द्बिपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आवश्यकता अनुसार समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भेटमा कानुन र परराष्ट्र मन्त्रालयका अधिकारीहरूकाे उपस्थिति थियाे ।







