काठमाडौँ, २० असोज । सर्लाहीको किराना पसलबाट १० लाख रुपैयाँ चोरी गरेको अभियोगमा एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१४ घर भई काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने ३७ वर्षीय हिरालाल ब्लोन रहेका छन् ।
गत भदौ ३ गते लालबन्दी नगरपालिका–७ स्थित किराना पसलबाट नगद १० लाख रुपैयाँ चोरी भएको घटनाको अनुसन्धानका क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ ।






