काठमाडौँ, १३ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ ।
भेटवार्तामा देशको पछिल्लो विपद्लगायत अन्य समसामयिक राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा कुराकानी भएको छ । वरिष्ठ नेता खनालको डल्लुस्थित निवासमा सो भेटवार्ता भएको हो ।
कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ, प्रभावकारी कसरी बनाउने तथा ती दलहरूको बिचमा कसरी एकता गर्ने लगायतका विषयमा कुराकानी भएको वरिष्ठ नेता खनालले बताए । विभिन्न समूहमा छरिएर रहेका कम्युनिस्टहरू बिचमा कसरी एकता गर्ने र कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने विषयमा नै भेटघाट केन्द्रित रहेको उनले बताए ।
उनले भने, ‘एकता हुनु कुनै ठुलो कुरा होइन, तर त्यसअघि वैचारिक तथा सैद्धान्तिक विषयमा कुरा मिल्नुपर्छ, कम्युनिस्ट पार्टीहरूको मार्गदर्शन, सिद्धान्त तथा विचारमा एकरूपता आउनुपर्छ, त्यसपछि मात्र एकता सम्भव छ’ । त्यसका साथै नेकपाको सङ्गठनात्मक र राजनीतिक गतिविधिलाई कसरी अगाडि बढाउने लगायतको विषयमा पनि कुराकानी भएको उनले बताए ।
भेटमा बुधवार रसुवाको भोटेकोसीमा आएको बाढीका कारण देशमा भएको धनजनको क्षति तथा उद्धार एवं खोजी लगायतको विषयमा पनि कुराकानी भएको जनाइएको छ ।






