काठमाडौँ, २६ असार । आत्मदाहको प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि थप उपचारका लागि तत्काल भारत नलगिने भएको छ ।
नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलैजाने भएको हो । नेपालीको अहिले वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा उपचार भइरहेको छ । चिकित्सकले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ । वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा २१ जनाको विशेष टोलीले उनको उपचार गरिरहेको छ ।
चिकित्सकहरूको टोलीले उनको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर प्रयास गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।






