काठमाडौँ, १७ असार । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदैलका लागि राखेको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बँदेल नियन्त्रण गर्नका लागि राखिएको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको हो ।
६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए । सोही करेन्टमा परेर उनकी श्रीमती हुमकला गम्भीर घाइते भएकी थिइन् ।
घाइते हुमकलालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । तर, चिकित्सकले बिहान ३:२५ बजे उनलाई मृत घोषणा गरेको हो ।
घटनापछि प्रहरीले करेन्ट प्रवाह गर्ने भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






