भारत रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छ : नेता बादल

काठमाडौँ, २९ जेठ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टीका कमजोरीहरूलाई सुधार्दै नयाँ विचार र नीतिका आधारमा पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

आज नेकपा (एमाले) बागमती प्रदेश कमिटीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपक्षीले प्राप्त गरेको अहिलेको सफलतालाई ‘अस्थायी’ संज्ञा दिँदै एमालेको विजय सुनिश्चित गर्न संगठनलाई नयाँ आधारमा उभ्याउनुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘अहिले अस्थायी रूपमा उनीहरू सफल भए पनि हाम्रा कमजोरीहरूलाई टेकेर उनीहरू सफल भएका हुन्, तर यो सफलता अस्थायी हो,’ ‘त्यसकारण यो सफलतालाई अस्थायी बनाउनका निम्ति हामीले पार्टीलाई नयाँ आधारमा, नयाँ विचार र नयाँ नीतिको आधारमा पुनर्गठन गर्नुपर्छ र अगाडि बढ्नुपर्छ । यसरी मात्रै हामीले फेरि विजय प्राप्त गर्न सक्छौँ ।’

उनले अहिले देशमा देखिएको स्थिति प्रतिक्रान्ति र प्रतिगमनपछिको अवस्था भएको दाबी गरे । भदौ २४ को परिघटनालाई असंवैधानिक र प्रतिगमनको संज्ञा दिँदै उनले त्यो कुनै क्रान्ति नभएको स्पष्ट पारे ।

थापाले भने, ‘अहिले फागुन २१ पछि जुन रास्वपाको सरकार स्थापित भएको छ, यसले स्वेच्छाचारिता र अधिनायकवाद लागू गर्दैछ । यसले जनताको संगठित हुने मौलिक अधिकार खोस्ने प्रयास गर्दैछ र सुकुम्बासीहरूलाई दमन गर्दैछ,’ ‘यसले लोकतान्त्रिक संस्थाहरूको र गणतन्त्रकै धज्जी उडाउँदै छ । राष्ट्रपतिले सम्बोधन गरिरहँदा देशका प्रधानमन्त्री बिचमै उठेर हिँड्नुको राजनीतिक अर्थ के हो ? यसको अर्थ उनीहरू गणतन्त्रलाई समाप्त पार्न चाहन्छन् र गणतन्त्रप्रति उपेक्षा गरिरहेका छन् भन्ने हो ।’

सीमा विवाद र राष्ट्रियताका सवालमा प्रधानमन्त्रीले हालै दिएको अभिव्यक्तिलाई थापाले ‘राष्ट्रिय आत्मसमर्पणवाद’ को संज्ञा दिए । प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको भनी दिएको अभिव्यक्ति सत्ता टिकाउने खेल मात्र भएको उनको दाबी छ । ‘यसको राजनीतिक अर्थ भारतलाई एउटा प्रस्ताव गर्नु हो– यदि तिमीहरूले मेरो सत्ता टिकाउन मद्दत गर्छौ भने हामीले मिचेको भनिएको जग्गा फिर्ता गर्न तयार छौँ,’ उनले भने, ‘राजनीतिक भाषामा भन्ने हो भने यो राष्ट्रिय आत्मसमर्पणवाद हो, सत्ता टिकाउनका निम्ति गरिएको प्रयास हो ।’ बरु भारतलाई जग्गा फिर्ता दिन्छौँ भन्ने आशय प्रधानमन्त्रीको भनाइमा देखिएको उनले बताए ।

त्यस्तै रास्वपाका सभापतिको हालैको भारत भ्रमण र त्यहाँ उनलाई दिइएको उच्चस्तरीय स्वागतप्रति पनि थापाले कडा संशय व्यक्त गरे । एउटा पार्टीको अध्यक्षलाई भारतमा प्रधानमन्त्री वा राष्ट्रपतिस्तरको भव्य स्वागत गरिनु सामान्य विषय नभएको उनको तर्क छ ।

उनले भने, ‘यही अवस्थामा रास्वपाका सभापति भारत जानुभयो । एउटा पार्टीको अध्यक्षलाई प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार तथा सत्तारूढ पार्टीका ठुला नेताहरूले भव्य स्वागत गरे, त्यो हामी सबैले टेलिभिजनमा देख्यौँ,’ ‘यसको राजनीतिक अर्थ के हो भने उनीहरू अहिलेको विद्यमान नेतृत्वसँग सन्तुष्ट छैनन् र नेपालको नेतृत्वमा अरू कसैलाई स्थापित गर्न मद्दत गर्न चाहन्छन् भन्ने सङ्केत देखिन्छ ।’ बाह्य शक्तिहरू नेपालको वर्तमान नेतृत्वसँग असन्तुष्ट रहेर नयाँ नेतृत्व स्थापित गर्न इच्छुक देखिएको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ जेठ । जुवाखालबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोल्पाको ठूलीभेरी नगरपालिका–३ का ५१ वर्षीय पञ्च

काठमाडौँ, २९ जेठ । जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक

काठमाडौँ, २९ जेठ । स्रोत नखुलेको रु आठ लाख ६१ हजार ५०० सहित नयाँ सडकबाट एक जना पक्राउ परेका छन्

काठमाडौँ, २९ जेठ । रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका–७ नरकटिया गाउँकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन् ।