ट्रम्प र मोदीबीच टेलिफोन वार्ता

काठमाडौँ, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन वार्तापछि भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भने, “प्रधानमन्त्री मोदीसँगको मित्रता र सम्मानका कारण उहाँकै अनुरोधमा हामी भारत र अमेरिकाबीच व्यापार सम्झौता गर्न सहमत भएका छौँ । यो तुरुन्तै लागु हुनेछ । यसअन्तर्गत अमेरिकाले लिँदै आएको पारस्परिक भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशत कायम गरिएको छ ।”

रुसी तेल र ५०० अर्ब डलरको खरिद
ट्रम्पका अनुसार भारतले रुसी तेल खरिद गर्न बन्द गर्ने सहमति जनाएको छ । यद्यपि, यस्तो दाबी ट्रम्पले विगतमा पनि गर्दै आएका थिए । 

सम्झौताअनुसार भारतले अमेरिकी सामानमा लाग्ने आयात कर शून्यमा झार्ने र अमेरिकाबाट ५०० अर्ब डलर बराबरको ऊर्जा, प्रविधि र कृषि उत्पादन खरिद गर्ने ट्रम्पको भनाइ छ । 

तेल खरिदबारे थप विवरण नदिई उनले भारतले अब अमेरिका र भेनेजुएलाबाट तेल खरिद गर्ने बताए ।

मोदीद्वारा स्वागत
भारत सरकारले यसबारे हालसम्म कुनै आधिकारिक विज्ञप्ति जारी नगरे पनि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत भन्सार दर कटौतीको स्वागत गरेका छन् । 

उनले लेख्दै भनेका छन्, “जब दुई ठूला अर्थतन्त्र र विश्वका ठूला लोकतन्त्रहरू मिलेर काम गर्छन्, यसले हाम्रा जनतालाई फाइदा पुर्‍याउँछ र आपसी सहयोगका अपार अवसरहरू खोल्छ ।”

सन् ०२५ जनवरीमा ट्रम्पले पदभार ग्रहण गरेयता भारतले दुईपटक अमेरिकी भन्सारको सामना गर्नुपरेको थियो ।
जुलाई ०२५ मा व्यापार घाटा कम गर्न भारत असफल भएको भन्दै ट्रम्पले २५ प्रतिशत भन्सार लगाएका थिए ।

अगस्ट ०२५ मा रुस–युक्रेन युद्धका बीच भारतले रुसी तेल खरिद बढाएको भन्दै ट्रम्पले थप २५ प्रतिशत ‘आयात कर’ लगाएका थिए । यसले गर्दा भारतीय उत्पादनमा कुल ५० प्रतिशतसम्म कर पुगेको थियो, जुन अमेरिकी व्यापार साझेदारहरूमध्ये सबैभन्दा उच्च थियो ।

सोमबार ह्वाइट हाउसले भारतले रुसी तेल खरिद कम गर्ने भएपछि उक्त अतिरिक्त २५ प्रतिशत कर हटाउने जानकारी दिएको छ । ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ पोस्टमा भने, “यसले युक्रेनमा भइरहेको युद्ध अन्त्य गर्न मद्दत गर्नेछ, जहाँ हरेक हप्ता हजारौँ मानिसले ज्यान गुमाइरहेका छन् ।”

यद्यपि, प्रधानमन्त्री मोदीको पोस्टमा तेल खरिदबारे कुनै उल्लेख गरिएको छैन । ट्रम्प र मोदीबीचको सम्बन्ध सुमधुर रहे पनि ट्रम्पको दोस्रो कार्यकालमा भारतको रुससँगको सम्बन्ध र ट्रम्पको भन्सार नीतिका कारण केही जटिलता देखिएका थिए । 

यो घोषणा यस्तो समयमा आएको छ, जब केही दिनअघि मात्रै भारतले युरोपेली संघसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता गरेको थियो । डीडब्ल्यूबाट ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको