काठमाडौँ, १७ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्मा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन् ।
आज राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट घाइते भएका उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका उनले मन्त्री पौडेलले उपचार आवश्यक भएका सबै नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताए ।
उनले सरकारी अस्पतालहरूमा विपद्बाट घाइते भएका बिरामीहरूको निःशुल्क उपचार जारी रहेको र विपद्बाट घाइते भई उपचार नपाएका नागरिकहरूले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताए । उनले विपद्बाट भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने बताए । उनले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाए ।
उनले भने, ‘उपचार आवश्यक भएका सबै नागरिकहरूलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराएको छ । निजी अस्पतालहरुलाई पनि विपद्मा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न अनुरोध गरेका छौँ । उपचार नपाएर समस्यामा पर्ने स्थिति हुँदैन । अहिले पनि कतिलाई जानकारी नभएको हुनसक्छ, म आग्रह गर्न चाहन्छु, विपद्मा परेर घाइते हुनुभएका सबैको उपचार नेपाल सरकारअन्तर्गतका अस्पतालहरूले गर्नेछन् ।’







