काठमाडौँ, १० जेठ । चीनस्थित नेपाली दूतावासले २५६८ औँ बुद्ध जयन्ती मनाएको छ । बुद्ध जयन्तीको अवसरमा त्यहाँस्थित दूतावासमा आयोजना गरिएको कार्यक्रममा राजदूत, कूटनीतिज्ञ, विभिन्न सङ्घ संस्थाका चिनियाँ नागरिक, चीनमा बसोबास गर्ने नेपाली समुदायका सञ्चारकर्मीलगायतको उपस्थिति रहेको नेपाली दूतावासले जनाएको छ ।
नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बुद्धका उपदेशले सम्पूर्ण मानव जातिलाई सभ्य, करुणामय, नैतिक र सार्थक जीवन बिताउन प्रेरित गर्ने बताए । पञ्चशीलको सिद्धान्तमा निहित दुई देश बिचको लामो समयदेखिको सम्बन्धले बौद्ध आध्यात्मिकताको प्रतीक रहेको बताउँदै उनले विश्वले सामना गरिरहेको विश्वव्यापी चुनौतीहरूको सामना गर्न बुद्धको उपदेश सार्थक हुने धारणा राखे ।




