काठमाडौँ, २६ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्प प्रभावित जाजरकोटको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
एनआरएनएअन्तर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिबार सञ्चालित स्वास्थ्य शिविरमा २०० जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएको समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले जानकारी दिए ।
शिविरमा आएका भूकम्पपीडितमा विशेष गरी श्वासप्रश्वास, चोटपटक र मानसिक रोगलगायत समस्या देखिएको थियो । चिसो बढ्दै गएकाले भूकम्पपीडितमा निमोनिया, रुघाखोकीको थप जोखिम रहेको स्वास्थ्य समितिले जनाएको छ । गर्भवती र सुत्केरी महिला बढी जोखिममा रहेका पनि जनाइएको छ ।






