संविधानले समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ : सभापति देउवा

काठमाडौँ, ३ असोज । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गरेका छन् ।

संविधान दिवसको शुभकामना व्यक्त गर्दै उनले संविधानसभामार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमनचयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताए । साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको उल्लेख गरे।

सभापति देउवाले ऐतिहासिक जननिर्वाचित संविधानसभामार्फत संविधान निर्माण भई जारी भएको आज आठ वर्ष पूरा भएर नौ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै यो अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न भई तीनै तहले दोस्रो कार्यकालका रुपमा काम गरिरहेका बताए । “नयाँ संविधानअनुसार विभिन्न ऐन/कानुन निर्माण सम्पन्न भई संविधान पूर्ण कार्यान्वयनतर्फ अघि बढेको छ । नयाँ संविधानअनुसारको स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकार जनताको अपेक्षाअनुसारको काम गर्न अग्रसर देखिएका छन्”, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

संवैधानिक अभ्यासमा भएका कमीकमजोरी सच्याउँदै संविधानको व्यावहारिक कार्यान्वयनमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै सभापति देउवाले सबै राजनीतिक दल, नागरिक समाज, निजीक्षेत्र र विभिन्न पेशाकर्मीको सामूहिक प्रयत्नबाट अब मुलुकलाई समुन्नत देशका रुपमा अघि बढाउनुपर्ने दायित्व सबैको काँधमा आएको बताए ।

विसं २००७ देखि सुरु भएको विभिन्न चरणका राजनीतिक सङ्घर्ष र प्रातः स्मरणीय सहिदको बलिदानको उपलब्धिका रुपमा संविधान सभामार्फत संविधान जारी भएको बताउँदै उनले संविधानको सफल कार्यान्वयन गरेर जनतालाई न्याय, सुशासन, समानता, सुख एवं समृद्धिसहितको समुन्नत मुलुक बनाउन सबैले एकआपसमा हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

सभापति देउवाले मुलुकलाई केही वर्षमा नै समुन्नत मुलुकका रुपमा अघि बढाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने भएको बताउँदै संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा समुन्नत मुलुक बनाउने अभियानमा सबैलाई एकताबद्ध भएर सहभागी हुन अनुरोध गरे । उनले संविधान दिवसका अवसरमा विगतका हरेक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाइ गरेका अग्रज नेता, विभिन्न आन्दोलनका क्रममा ज्यानको आहुति दिने सहिद, हरेक आन्दोलनमा साथ सहयोग गर्ने नागरिकलगायत सबैप्रति उच्च सम्मान प्रकट गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका