काठमाडौँ, १६ माघ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको निष्कासन गरेको छ । कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेकोे हो ।
कम्पनीले आफ्नो जारी पुँजी ६ करोड २३ लाख ३८ हजारको ३२.६२ प्रतिशत अर्थात् दुई करोड तीन लाख ३८ हजार बराबरको प्रतिसेयर १०० दरका दुई लाख तीन हजार ३८० कित्ता साधारण सेयरमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गर्न गरेको छ ।
निष्कासित सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी फागुन १ भित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता सेयरसम्मको आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो सेयर’मार्फत् शेयर खरिदको आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड छ ।





