स्वास्थ्य बीमा कार्यक्रम अब ७७ वटै जिल्लामा

काठमाडौँ, १६ चैत । सरकारले यसै आर्थिक वर्षमा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको छ । २०७२ सालमा गठन भएको स्वास्थ्य बीमा बोर्डले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो ।

यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिने छ । त्यसपछि काठमाडौं र ललितपुर जिल्लामा पनि लागू गर्न लागिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा. माधव लम्सालले जानकारी दिए । बीमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको तीन हजार ५ सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा गराउन सक्नेछन् ।

पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्य ७ सयका दरले बीमा रकम थप गर्नुपर्नेछ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य २० हजारदेखि दुई लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ । बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३७५ अस्पताललाई सूचीकृत गरेको छ । बोर्डका सदस्य चन्द्र थापाले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरेपछि सबै नागरिकलाई बीमामा आबद्ध गराउने पहल गरिने जानकारी दिए । ‘अहिले हामी सबै जिल्लामा कार्यक्रम लागू गर्दछौं,’ उनले भने, ‘त्यसपछि नागरिकलाई बीमाप्रति जनचेतना जगाइ सबैलाई आबद्ध गर्दछौं ।’

अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेका छन् । थापाले बीमामा सबै नागरिकलाई आबद्ध गराउने खालका कार्यक्रम ल्याइने बताए । अहिले ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भए पनि सात लाख ४२ हजार १९२ घर परिवारका ३७ लाख १० हजार ९६२ जना बीमा कार्यक्रममा सहभागी रहेका छन् । तीमध्ये १४ लाख ३० हजारले मात्र बीमा कार्यक्रमको सुविधा लिएका छन् भने यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष