एजेन्सी, १७ कार्तिक । चीनको निजी अन्तरिक्ष कम्पनी क्यास स्पेसले विकास गरेको रकेटले मंगलबार १८ वटा भू–उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
यो प्रक्षेपण चीनको न्यून भू–कक्षीय स्याटेलाइट इन्टरनेट सञ्जाल विस्तार गर्ने अभियानका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
क्यास स्पेसका अनुसार स्थानीय समयअनुसार आज बिहान ८ः१५ बजे उत्तरपश्चिम चीनस्थित डोङफेङ कमर्सियल स्पेस इनोभेसन एक्सपेरिमेन्टल जोनबाट ‘किनेटिका–टु वाई टु’ नामक रकेट प्रक्षेपण गरिएको थियो । त्यसले चीनको छियानफान स्याटेलाइट इन्टरनेट परियोजनाअन्तर्गत ध्रुवीय कक्षका लागि तयार पारिएका १८ भू–उपग्रहलाई निर्धारित कक्षमा पुर्याएको हो ।
किनेटिका–टु रकेटको यो दोस्रो उडान हो । ठुलो संख्यामा भू–उपग्रह प्रक्षेपण गर्ने उद्देश्यले गरिएको यो पहिलो अभियान हो । यसले चीनका निजी अन्तरिक्ष कम्पनीले राष्ट्रिय अन्तरिक्ष पूर्वाधार निर्माणमा सहयोग पुर्याउन सक्ने क्षमता विकास गरिरहेको देखाएको क्यास स्पेसले जनाएको छ ।







