१३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न

मोरङ, १२ कार्तिक । मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र  आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । सबस्टेसनलाई कात्तिक १४ गते शनिवार र १५ गते आइतबार चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ ।

उक्त दिनहरुमा पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुवही–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइनलाई  भित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) कार्य गरिने छ । दुहवी–दमक १३२ केभी प्रसारण लाइनबाट सबस्टेसनमा विद्युत आपूति हुनेछ ।

दुहवी–दमक प्रसारण लाइनलाई शनिवार र आइतबार विहान ४ बजेदेखि मध्यान्ह १२ बजेसम्म बन्द गरी लुप इन र लुप आउटको कार्य गरिनेछ । यसका कारण उक्त समयमा झापा, इलाम, पाँचथर ताप्लेजुङ जिल्लाका सम्पूर्ण भागहरु र मोरङको उर्लाबारी, पथरी आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ ।

सबस्टेसनमा १३२ /३३ केभी, ६३ एमभिएका दुईवटा र ३३/११ केभी, २२.५ एमभिएको एउटा पावर ट्रान्सफर्मर राखिएको छ । सबस्टेसनको कुल क्षमता १४८.५ एमभिए रहेको छ । हाल उक्त क्षेत्रमा लागि दुहवी–रानी–रङ्गेली ३३ केभी करिब ५० किलोमिटर लामो लाइनबाट विद्युत आपूर्ति हुँदै आएको थियो । अब लाइनको लम्बाइ घट्ने हुँदा विद्युत आपूर्तिमा सुधार हुनेछ ।

सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ११ केभीका ५ वटा फिडर लाइनहरु निकालिएको छ । त्यस्तै, करौन–रङ्गेली र केरौन–विराटचोक  ३३ केभी डबल सर्किट लाइन निर्माण गरिएको छ ।

आयोजना निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । अनुमानित लागत करिब एक अर्ब रुपैयाँ रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी)को सहुलितपूर्ण ऋणमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को पहिलो खेलमा लुम्बिनी लायन्सले सहज जित हासिल गरेको छ

काठमाडौँ, ९ कार्तिक । फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ ।  ताप्लेजुङको

काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको