काठमाडौँ, ११ कार्तिक । बलिउड अभिनेता इमरान खानलाई मुम्बई प्रहरीले अक्टोबर २८ भित्र भारत छाड्न दिएको नोटिसमा बम्बे उच्च अदालतले तत्कालका लागि रोक लगाएको छ ।
भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको विरोध प्रदर्शनमा सहभागी भएपछि प्रहरीले उनलाई देश छाड्ने सूचना दिएको थियो ।
मङ्गलबार बम्बे उच्च अदालतका मुख्य न्यायाधीश महेशचन्द्र त्रिपाठी र न्यायाधीश अद्वैत सेठनाको संयुक्त इजलासले खानको रिट निवेदनमाथि सुनुवाइ गर्दै भारत छाड्ने सूचनामा नोभेम्बर २ सम्मका लागि रोक लगाएको हो । यसअघि सोमबारका लागि तोकिएको सुनुवाइ स्थगित भएर मंगलबार भएको थियो। अदालतले यस मामिलाको अर्को सुनुवाइ पनि नोभेम्बर २ का लागि नै तोकेको छ ।
केही दिनअघि मुम्बईको अगस्ट क्रान्ति मैदानमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको विरोध प्रदर्शनमा अभिनेता खान सहभागी भएका थिए । सो क्रममा मुम्बई प्रहरीले उनलाई हिरासतमा लिएको थियो। भारतीय नागरिक नभईकन पनि राजनीतिक तथा आन्तरिक विरोध प्रदर्शनमा सहभागी भएको भन्दै उनीमाथि अध्यागमन ऐनको दफा ७ र २९ अन्तर्गत कारबाही अघि बढाइएको हो ।







