पर्वले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ : सभामुख अर्याल

काठमाडौँ, ४ कार्तिक । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरूबिच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत र सशक्त बनाई विविधताबिचको सौहार्द एकतालाई मूर्त रूप प्रदान गर्ने बताएका छन् ।

नेपालीहरूको महान् चाड बडा दसैँका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना समेत गरेका छन् ।

सभामुख अर्यालले जारी गरेको शुभकामना सन्देशमार्फत दसैँको अवसरमा विश्वभरी रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायू एवं निरन्तर प्रगतिको लागि हार्दिक र मंगलमय शुभकामना व्यक्त गरेका छन् । उनले विजय दशमीको यस सुखद घडीमा नेपालको संविधानलाई शिरोपर गर्दै राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना पनि गरेका छन् । उनले विजयदशमीले समस्त नेपाली जनहरूमा नवीन ऊर्जा, सोच, नवप्रवर्तन र राष्ट्र निर्माणको सङ्कल्प पैदा गरोस् भन्ने दृढ विश्वास पनि व्यक्त गरेका छन् ।

“जनताको सार्वभौमसत्ता र राजकीय सत्तालाई अक्षुण्ण राख्दै जनभावना अनुरुप समयसापेक्ष जनमैत्री कानुन निर्माण तथा परिमार्जन गर्दै मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सङ्घीय संसद् सदैव क्रियाशील र प्रतिबद्ध छ”, शुभकामना सन्देशमा भनिएको छ, ।

सभामुख अर्यालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा दसैँलाई दूराचारमाथि सदाचारको जीत र असत्यमाथि सत्यको विजय प्रतिकका रूपमा मनाइने उल्लेख गर्नुभएको छ । यो पर्वले सबैलाई समन्याय, सदाचार र लोकतान्त्रिक मूल्य मान्यताको सुमार्गमा हिँड्ने प्रेरणा प्रदान गर्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको