काठमाडौँ, २७ असोज । असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक भएको छ ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्मको ४ मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा प्रेम, संघर्ष, बियोग, शंका र बिछिप्तता समावेश छ । आमाले छोराहरूलाई गर्ने माया र छोराहरूले आमालाई गर्ने माया र वियोगको सेरोफेरोमा ट्रेलर केन्द्रित छ ।
फिल्ममा आमाको भूमिकामा रहेकी विपना थापा छिन् भने पल शाह कृष्ण र मलिका महत राधाको चरित्रमा देखिएका छन् । यता, आकाश श्रेष्ठको भूमिकालाई लिएर भने दर्शकमाझ कौतूहल देखिन्छ । ट्रेलरमा उनको चरित्रको प्रस्तुतिले उनी नकारात्मक भूमिकामा छन् कि भन्ने अनुमान गर्ने ठाउँ दिएको छ ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायत कलाकारको मुख्य भूमिका छ ।








