एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
यसमा हवाइजहाज, हेलिकोप्टर र ड्रोन समावेश छन् । गुप्तचर, निगरानी, हवाई सहयोग तथा उद्धार कार्यमा प्रयोग हुने एमक्यू–९ रिपर ड्रोन क्षतिग्रस्त वा नष्ट भएका कुल विमानमध्ये आधाभन्दा बढी छन् ।
क्षतिग्रस्त वा नष्ट भएका विमानको सूचीमा पेन्टागनका महँगा र अत्याधुनिक सैन्य प्रविधिसमेत छन् । तीमध्ये एफ–३५ए लडाकु विमान र ई–३ सेन्ट्री प्रमुख छन् । चार इन्जिनयुक्त ई–३ सेन्ट्रीमा राडार डोम जडान गरिएको हुन्छ । यसको प्रयोग लक्ष्यको निगरानी तथा हवाई क्षेत्रको व्यवस्थापनमा गरिन्छ ।
कंग्रेसनल बजेट अफिस (सीबीओ)को तथ्यांक उदृत गर्दै प्रतिवेदनले रक्षा मन्त्रालयको मर्मत वा नयाँ खरिद योजनाका आधारमा विमान क्षतिको कुल लागत १.९ अर्बदेखि ३.३ अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरेको छ ।
सीएनएनले उद्धृत गरेका स्रोतहरूका अनुसार युद्धको कुल लागत कम्तीमा ४५ अर्ब अमेरिकी डलर पुगिसकेको छ । यसमा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा भएको पूर्वाधार क्षति समावेश छैन ।
क्षतिग्रस्त केही विमान मर्मतपछि पुनः सेवामा फर्काइएको बताइएको छ । जसमा गत सेप्टेम्बरमा जोर्डनस्थित मुवफाक साल्टी एयर बेसमा इरानी आक्रमणबाट सामान्य क्षति पुगेका आठवटा एफ–१५ स्ट्राइक इगल लडाकु विमान मर्मत गरिएको हो ।







