काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको बताएका छन् ।
जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निधिले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र साङ्गठनिक रूपमा दुई धारमा बाँडिदिएकाले अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।
विशेष महाधिवेशन र त्यसपछिका घटनाक्रमले पार्टीलाई जोड्न नसक्ने भएकाले नयाँ ढङ्गले साङ्गठनिक यात्रा तय गर्नुपर्नेमा उनले जोड दिए । निधिले भने, ‘विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको हो,’ ‘हामीले सुरुदेखि नै प्रक्रियाको कुरा उठाउँदा बेवास्ता गरियो। पुराना पुस्ताका नेताहरू अझै जिम्मेवारी पूरा गर्दै हुनुहुन्छ, त्यसैले हामीले मिहिनेतका साथ नयाँ कार्यदिशा तय गर्नुपर्छ। गिरिजाबाबु र शेरबहादुरजी मिल्न तीन वर्ष लागेजस्तै परिस्थिति कहिले कस्तो हुन्छ भन्न सकिन्न। तर अहिले आफ्नो घरलाई अझ मजबुत बनाउनु र सङ्गठन निर्माण गर्नु नै हाम्रो प्राथमिकता हो।’
उनले निर्वाचन आयोगमा पेस गरिएको तथ्याङ्क अनुसार आफूहरूसँग ४६ प्रतिशतको बलियो आधार रहेको दाबी गर्दै उनले उक्त मतलाई बेवास्ता गरेर गरिएका निर्णयहरू अमान्य हुने जिकिर गरे ।







