काठमाडौँ, १९ असोज । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् ।
बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति सिग्देल बेलायतको औपचारिक भ्रमणमा गएका हुन् ।
नेपाली सेनाका अनुसार, प्रधानसेनापति सिग्देलको बेलायत भ्रमण असोज १९ गतेदेखि २५ गतेसम्म हुनेछ ।
प्रस्थान गर्नुअघि प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए ।
“भ्रमणले सदियौँदेखि रहँदै आएको दुई देशबीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,” नेपाली सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीलाई कायममुकायम प्रधानसेनापतिको कार्यभार दिइएको छ ।







