काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ ।
प्रहरीका अनुसार गएराति १० बजे कोशी राजमार्गमा प्रहरी चौकी बरगाछीले गरेको आकस्मिक चेकिङ टोलीलाई देखेर इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को१च ७३९९ नम्बरको स्कार्पियो गाडी यु-टर्न गरी भागेको थियो ।
भाग्ने क्रममा स्कार्पियोले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको थियो । लगत्तै स्करपियो चालक फरार भएका थिए ।
दुर्घटनापश्चात् तत्काल प्रहरी चेकिङ टोलीले स्कार्पियो गाडीभित्र खोजी गर्दा लुकाइछिपाइ राखिएको १३ पोका गाँजा बरामद गरेको थियो । बरामद गाँजा ३९८ केजी रहेको मोरङ प्रहरीले जनाएको छ ।
फरार चालकको खोजी भइरहेको र दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।







