काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो ।
स्थानीयबासीका अनुसार घरमा राति सबैजना सुतिरहेको बेला एक्कासि आगजनी भएको थियो । आगजनीमा परिवारका अन्य सदस्य भाग्न सफल भएपनि सहनी भाग्ने क्रममा लडेर आगजनीमा परि मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् ।
प्रहरीले आगलागी विद्युत् सर्टबाट भएको हुनसक्ने जनाएको छ । मृतक सहनी महोत्तरी नगरपालिका २ निवासी अवकास प्राप्त शिक्षक हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।






