काठमाडौँ, ३१ भदौ । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गाँजा ओसारपसारमा प्रयोग भएको ज १ च १२१३ नम्बरको एम्बुलेन्स सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डबाट नियन्त्रणमा लिएको हो ।
चोहर्वाबाट सिरहातर्फ एम्बुलेन्समा गाँजा लोड गरी ल्याइँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउने क्रममा सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा पुगेपछि चालक एम्बुलेन्स छाडेर फरार भएका छन् ।
प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा पाँचवटा जुटका बोरामा राखिएको १०५ किलो लागूऔषध गाँजा बरामद भएको जनाएको छ । बरामद गाँजा र एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र नियन्त्रणमा लिइएको एम्बुलेन्स कसको हो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ । फरार चालकको पहिचान तथा खोजतलास भइरहेको छ ।






