आज तीजको दर खाने दिन

काठमाडौँ, २८ भदौ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाँदै छन् ।

दर खाएसँगै आजदेखि चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुँदै छ । विशेष गरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाने परम्परा छ ।

माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने गर्छन् । दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध र आडिला परिकार खाइन्छ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् । दर दुई भाग रात बाँकी छँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।

महिलाहरूले वर्षभरिका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रूपमा पनि तीजलाई लिइन्छ । जन्मघर छाडेर कर्मघरमा बस्दा पाएका दुःख र वेदना नारीले तीजका भाकामा सार्वजनिक गर्छन् ।

पछिल्ला वर्षहरूमा तीजका नाममा तडकभडक र उच्छृङ्खलता बढेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतितिर लगेको समाजशास्त्री कीर्तिकुमार राई बताउँछन् । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराईका अनुसार भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्नका लागि अघिल्लो दिन बेलुकी दर खाने शास्त्रीय नियम तोकिएको हो ।

दर खाएपछि सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सानीभेरी गाउँपालिका-६ को देउता

काठमाडौँ, २८ भदौ । बागलुङको ताराखोला गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवती र सुत्केरीलाई २०७६ सालदेखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ

काठमाडौँ, २८ भदौ । अरनिको राजमार्ग अन्तरगत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु घाइते भएका छन्

काठमाडौँ, २८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ