काठमाडौँ, २४ भदौ । पोखरा–१०, बुद्धचोकमा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी ५ निवासी २५ वर्षीय नवराज दर्जी हुन् । पृथ्वी राजमार्ग अन्तर्गत बुधबार दिउँसो १२ बजेर ५० मिनेटमा बुद्धचोकमा पृथ्वी चोकबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक दर्जी गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले दिउँसो २ बजेर २२ मिनेटमा मृत घोषणा गरेको हो ।
ट्रक र चालक सिन्धुलीको कमलामाई–८ का ३६ वर्षीय खडकबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ ।






