राहत र पुनर्स्थापनाका लागि सरकारले कुनै कसर बाँकी राख्दैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ, २३ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीमा परी निधन हुनुभएका भन्सार अधिकृत नवकुल शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

सोमबार भन्सार विभागमा आयोजित श्रद्धाञ्जली तथा स्मरण सभामा सहभागी भएर उहाँले दिवंगत हुनुभएका अधिकृत शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।

साथै, उहाँले बाढीमा परी बेपत्ता रहनुभएका १४ जना राष्ट्रसेवक कर्मचारीको अज्ञात अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँहरू सकुशल फर्किएको सुन्न आतुर रहेको बताउनुभयो। बाढीमा परी ज्यान गुमाएका अधिकृत शर्माको परिवार र बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीहरूका परिवारमा परेको गहिरो पीडाप्रति दुःख व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले उहाँहरूको दु:खमा सरकार र सिङ्गो अर्थ मन्त्रालय साथै रहेको बताउनुभयो।

कर्तव्यपालनको सिलसिलामा परलोक हुनुभएका अधिकृत शर्माको परिवारलाई सरकार र अर्थ मन्त्रालयका तर्फबाट दिन सकिने राहत र पुनर्स्थापनाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने पनि उहाँले स्पष्ट पार्नुभयो।

श्रद्धाञ्जली तथा स्मरण सभामा बोल्दै अर्थ सचिव डा. घनश्याम उपाध्यायले नवकुल शर्माको अभाव सधैँ खड्किरहने बताउनुभयो। सरकारलाई राजस्व उठाउने कार्यका लागि खटिँदा ज्यान गुमाउन पुग्नुभएका शर्मालाई उहाँले राजस्व सहिदको रूपमा सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

साथै, उहाँले कर्तव्यपालनको सिलसिलामा बाढीमा परेर सम्पर्कविच्छेद हुनुभएका र अवस्था अज्ञात रहेका १४ जना कर्मचारीहरूको अवस्थाले चिन्तित तुल्याएको बताउनुभयो। उहाँहरूको अवस्था पहिल्याउन सरकारले यथेष्ट पहल गरेको पनि सचिव उपाध्यायले बताउनुभयो।

सभामा बोल्दै भन्सार विभागका महानिर्देशक यमलाल भुसालले मृतक कर्मचारीको अवस्था पहिल्याउन र बेपत्ताको खोजी गर्न हरसम्भव प्रयास जारी राखेको बताउनुभयो। सो अवसरमा रसुवा भन्सार कार्यालयमा भन्सार प्रमुखको जिम्मेवारीमा रहनुभएका उपसचिव राजेन्द्र ढुङ्गानाले भदौ १० गते भोगेको त्रासदीको स्मरण गर्नुभएको थियो। आँखैअघि आफ्ना सहकर्मी गुमाएको र बेपत्ता भएको घटनाले अझै झस्काइरहेको उहाँले बताउनु भयो।

भदौ १० गतेको बाढीमा परी रसुवा भन्सार कार्यालयमा खटिएका १५ जना राष्ट्रसेवक कर्मचारी बेपत्ता हुनुभएको थियो। जसमध्ये शर्माको शव गोरखामा फेला परेपछि पशुपतिमा अन्तिम दाहसंस्कार गरिएको थियो। सो घटनामा परेका १४ जना कर्मचारीको अवस्था अझै अज्ञात छ।

विभागका अनुसार बेपत्ता हुनुहुने कर्मचारीहरूमा भीम लामा, विष्णुप्रसाद भुसाल, दिनेशकुमार घिमिरे, अनिता पुरी, हरिबहादुर खड्का, राजेन्द्रकुमार सोनकर, विमल त्रिपाठी, गोविन्दबहादुर अधिकारी, नरेशदत्त जोशी, प्रेम सेढाइ, राजु ओली, विकास तामाङ, रामबहादुर नेपाली र सुनिल गुरुङ हुनुहुन्छ। उहाँहरुको अवस्था पहिल्याउन भन्सार विभागले विशेष टोली नै बनाएर खटाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र